काठमाडौं– रौतहटको १६ वटा योजनाहरुमा कुनै पनि कामै नगरी सिंचाई कार्यालयका प्रमुखको मिलेमतोमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएको छ।
सिचाई डिभिजन प्रमुख अजित श्रीवास्तवसमेतको मिलेमतोमा बाढी पीडितका लागि सञ्चालन भएका १६ आयोजनामा कामै नगरी भुक्तानी गरेको भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पाइएको हो।
विकास निर्माणमा कतिसम्म बेथिति र भ्रष्टाचार हुन्छ भन्ने उदाहारण यसवाट पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
आयोगले कामै नगरी नक्कली बिल निर्माण गरेको भुक्तानी दिने सिंचाइ डिभिजन कार्यालय गौरका तत्कालीन डिभिजन प्रमुख अजित श्रीवास्तव, तत्कालीन इन्जिनियर नविनकुमार यादव, तत्कालीन सब-इन्जिनियर संजय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तर विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
डिभिजन प्रमुख श्रीवास्तवले आर्थिक वर्ष २०७४/०७५ मा बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनाहरूमा कुनै पनि प्रकारको कामै नगरी फर्जी बिल बनाई रकम लिएको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको फेला परेको थियो।
उपभोक्ता समितिसँगको मिलेमतोमा उनीहरुले ३ लाख ७२ हजार ५१ रुपैयाँ भुक्तानी फर्जी बिलको आधारमा लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
निर्माणस्थलमा भएको कार्यभन्दा बढी तथा साईटमा नगरेको कामको परिमाणको नापेर बिल बनाई भुक्तानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
गुजरा खोला सिंचाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरले डिभिजन प्रमुख श्रीवास्तव, यादव, तत्कालीन सबइन्जिनियर संजय साहसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुसँग सो रकम बराबर विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।