काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री गर्दा भएको लाभकर छली विवाद सम्बन्धी मुद्दाको फैसला मिति सरेको छ। केही दिनअघि पहिलो सुनुवाई गर्दै सर्वोच्चले फैसलाका लागि मंगलबारको मिति तोकेको थियो।
तर फैसला लेख्न नभ्याएपछि नयाँ मिति तोकिएको सर्वोच्चले जानकारी दिएको छ। सर्वोच्चले साउन ३० गतेका लागि फैसला गर्ने मिति तोकेको छ।
मंगलबार उक्त विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले दोस्रो पटक फैसला सुनाउने निर्णय गरेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकार अन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन रहेको थियो।
एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका ५ न्यायाधीशले पुनः सुनुवाई गर्दै मंगलबारका लागि फैसला मिति तोकेका थिए। तर सर्वोच्चले यसको अन्तिम निर्णय भने मंगलबार गर्न नसकेको जानकारी दिएको छ।
दुवै पक्षका कानुन व्यवसायीको लामो बहसपछि निर्णय सुनाउने मिति तोकिएको मुद्दामा हुने फैसलाले राजश्वको लामो विवाद अन्त्य गर्नेछ।
उक्त मुद्दा न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले रहेको छ। यसअघि सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले गरेको फैसलापछि ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले हालेको मुद्दामा दोस्रो फैसला हुन लागेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको ५ सदस्यीय बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो। कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनू भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो।
सर्वोच्चको सो आदेशपछि ठूला करदाता कार्यालयले ६२ अर्व बराबर कर निर्धारण गरेको थियो। ठूला करदाताको उक्त निर्णयले अन्याय भएको भन्दै एनसेल सर्वोच्च आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।