काठमाडौं- वाम गठबन्धन र मधेसकेन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठन लगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेश बमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए। ठोस सहमति भएमा गठबन्धन र मधेसी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ।
एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन तथा राजपा र संघीय समाजवादी फोरमका नेताबीचको सो छलफलपछि देभभर एमाले र प्रदेश नं २ मा मधेसी दललाई नेतृत्व गर्न प्राप्त जनादेशबमोजिम अघि बढ्न छलफल गरिएको थियो ।
माओवादी केन्द्रका नेता मातृका यादवले विस्तृत छलफलका लागि आफूहरुको मंगलबार अपराह्न ३ बजे बैठक पुनः बस्ने जानकारी दिए। बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।