गाईघाट, उदयपुर- नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताएका छन्।
क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले कामचलाउ मात्र भएर पनि सरकारले अझै बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाए।
विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भएको उनको भनाइ थियो। आज केही कम्युनिस्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको उनले आरोप लगाए।
'वैचारिक रुपमा नेपाली कांग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन,' उनले भने, 'नेकपा (एमाले) र माओवादी केन्द्र सच्चा कम्युनिस्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिस्ट आन्दोलनमा लागेका छन्।'
नेता गजुरेलले अब कम्युनिस्टको नेतृत्व आफूहरुले गर्ने जिकिर गरेका छन्। हिजोको जस्तो जनयुद्ध नभई वैचारिक संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डोहोर्याउने उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।