चरिकोट- दोलखाको चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ। गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो।
मृत्यु हुनेमा रामेछाप जिल्ला साविकको प्रीति गाविस वडा नम्बर ९ की २५ वर्षीया नानीमाया तामाङका एक महिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए। आमा नानीमायाको अवस्था पनि चिन्ताजनक रहेको छ। उनको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ। गाडी धनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य छ।
गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।