काठमाडौं– नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्तत: राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
सोमबार बसेको एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश नं ५ बाट राष्ट्रियसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो।
चुनावको केही समयअघि उनी राप्रपा नेपालबाट एमाले प्रवेश गरेकी थिइन्। लोकप्रिय मतसहित राप्रपाको केन्द्रीय सदस्य बनेकी उनी सांसद बन्ने ठूलो अपेक्षासहित एमालेमा आइन्। तर दाङबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएकी उनलाई उम्मेदवार बनाइन। त्यसपछि एमालेविरुद्ध नै बागी उम्मेदवारी दर्ता गराएकी उनले पछि उम्मेदवारी फिर्ता लिइन्।
उपयुक्त अवसर दिने वाम गठबन्धनका नेताहरुको आश्वासनपछि उम्मेदवारी फिर्ता लिएको उनको भनाइ थियो। उनले त्यसबेला भनेकी थिइन्, 'मैले आस्था राखेको पार्टी नेकपा एमाले र समग्रमा वाम गठबन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।