बगदाद - इराकका राष्ट्रपति फुड मसौमले आम निर्वाचनको मिति सोमबार सदर गरेका छन्।
संसदले पारित गरेको आउँदो मे १२ का दिन निर्वाचन गर्ने प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरेका हुन्। प्रस्ताव स्वीकृत गरेपछि जारी विज्ञप्तिमा भनिएको छ,'सन् २०१८ को मे १२ मा प्रतिनिधि परिषद् (संसद)को चौथोँ कार्यकालका लागि निर्वाचन गर्ने मिति तोकिएको छ।'
इराकी संविधान अनुसार राष्ट्रपतिले स्वीकृत गरेसँगै मे १२ का लागि निर्वाचनको मिति घोषणाको सवै कानूनी प्रक्रिया पुरा भएको छ ।
संसदले पारित गरेको केही घण्टामै राष्ट्रपतिले आम निर्वाचनको मिति घोषणाको प्रस्ताव स्वीकृत गरेका हुन्। प्रधानमन्त्री हैदर अल अबादी नेतृत्वको मन्त्रीपरिषद्ले इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगसँग समन्वय गरेर मे १२ मा आम निर्वाचन गर्ने प्रस्ताव गरेको थियो।
इराकको संविधानमा बाहलवाला संसदको म्याद कम्तीमा ४५ दिन बाँकी हुँदा नै नयाँ संसदका लागि निर्वाचन सम्पन्न भइसक्नु पर्ने व्यवस्था रहेको छ। इराकमा यसअघि सन् २०१४ को अप्रिल ३० तारिखका दिन आम निर्वाचन भएको थियो । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।