काठमाडौं– पेप्सीकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवि कुमार गुरुङ शेयर सदस्यहरुको पैसा कुम्लाएर करिब ६ महिनाअघि फरार भए।
संस्थाका उपाध्यक्षसहित अन्य संचालकहरु उनको खोजीमा लागे। केही नलागेपछि उनीहरुको टोली गुरुङलाई खोज्दै उनको घर वुटवल पुग्यो।
गुरुङ घरमा थिएनन्। उनका बुबा आमा थिए। छोरा पक्कै बुबा आमाको सम्पर्क छन् भन्ने उनीहरुलाई लाग्यो। पीडितहरु इप्रका कार्यालय वुटवलमा पुगे। डिएसपीले गुनासो सुनेपछि असई रेशम बहादुर खड्कालाई दुई पक्षबीच छलफल गराउने जिम्मेवारी दिए।
प्रहरी कार्यालयमा छलफल भयो। गुरुङका बुबाआमा छोराले लिएको पैसा तिर्न तयार भए। त्यसका लागि पीडितहरुले कागज गर्न चाहे।
प्रहरी कार्यालयभित्र त्यस्तो कागज गर्न मिल्दैन। असई खड्काले नै दुवै पक्षलाई कार्यालय बाहिर लिएर गएर १ करोड ३ लाख रुपैयाँको कागज गराए।
त्यो कागज आफैंले राखे। प्रहरीसँगै कागज भएपछि केही दिनमा दिनेमा पीडितहरु बिश्स्त भएर काठमाडौं आए।
तर, गुरुङका परिवारले पैसा दिने छाँट देखाएनन्। उनीहरुले असई खड्कालाई फोन गरी कागज दिन आग्रह गरे। उनले झुलाउदै गए। पछि, कागज दिनका लागि पैसा माग्न थाले।
६ महिनासम्म झुलाएपछि पीडितहरु पैसा दिएर भएपनि कागज लिन तयार भए। सोही अनुसार सोमबार दिउसो माछापोखरीको एक चियापसलमा पैसा लिन खड्कालाई बोलाइयो।
तीन लाख रुपैयाँ लिएपछि उनले कागज दिए। तर, पैसा लिएर जान पाएनन्। नजिकै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ ग¥यो। असई खड्काले निकै दुःख दिएकाले पीडितहरुले अख्तियारलाई खबर गरेका थिए।
असई खड्का पछिल्लो समय महानगरीय प्रहरी कार्यालयको परिचालन कक्षमा कार्यरत थिए।
उनले गुरुङको परिवारसँग पनि पैसा खाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पैसा खाएर उनले उक्त कागजको फोटोकपी गुरुङ परिवारलाई दिएका थिए। सोही आधारमा गुरुङ परिवारले आफुलाई जर्बजस्ती कागज गराएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्।
दुःख दिने असईलाई त पक्राउ गराएर पीडितहरुले कागज लिन सफल भएका छन् त पैसा खाएर भाग्ने संस्थाका अध्यक्ष भने फेला परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।