काठमाडौं- भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा नाडा अटो शो २०१९ हुँदैछ। अटो शोमा सबैजसो ब्रान्डले नयाँ मोडल बिक्री तथा प्रदर्शनीका लागि राख्ने गरेका छन्।
यसका साथै नाडामा हरेक वर्ष जसो नयाँ ब्रान्ड समेत आउने गरेको छ। सवारी बजार विस्तार भएसँगै नेपाली बजारमा नयाँ–नयाँ ब्रान्डहरु भित्रिने क्रम बढेको छ। यो वर्षको नाडा अटो शोमा विभिन्न दुई पांग्रे तथा चार पांग्रे नयाँ ब्रान्डले सहभागिता जनाउने तय भइसकेको छ।
सवारीको बिक्री बढ्दै गएको र उपभोक्ताको चाहना नयाँ ब्रान्ड प्रति चासो हुने भएकाले नयाँ ब्रान्ड भित्रिएका हुन्। भदौ १० गतेदेखि हुने नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक ब्रान्ड बीवाइडी र दायले सहभागिता जनाउँदै छन्। त्यस्तै अर्को चिनियाँ सवारी उत्पादक कम्पनी फोटोनले समेत आफ्ना सवारीसहित अटो शोमा भाग लिने भएको छ।
त्यस्तै दुईपांग्रेतर्फ जर्मन सवारी उत्पादक कम्पनी बिएमडब्लूका मोटरसाईकल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने छन्। गत वर्ष नेपाली बजारमा भित्रिएको बीएमडब्लूका मोटरसाइकल धेरै युवाको ‘ड्रिम’ मोटरसाइकलको रुपमा रहेको छ।
त्यस्तै योमा मा इ, मियामा, सुपर सोको तथा थाइ मोटरसाइकल ब्रान्ड जिपिएक्स रेसिङ ब्रान्डका मोटरसाइकल तथा स्कुटर नाडा अटो शोमा प्रदर्शनी तथा बिक्रीका लागि राखिने भएका छन्। नाडा अटो शोमा हरेक वर्ष नयाँ नयाँ ब्रान्ड थपिँदै गएका छन्। यस वर्षको अटो शोमा १८ चारपाग्रे र १९ दुई पांग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।