काठमाडौँ– मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्ने देखिएको छ।
माइती नेपालले आज आयोजना गरेको ‘मानव बेचबिखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चारमाध्यमसँग सहकार्य’ विषयको कार्यक्रममा सहभागीले मनोरञ्जनका क्षेत्र रेष्टुरेण्ट, डान्सबार, स्पा, मसाज केन्द्रलगायतमा काम गर्ने महिलालाई अत्यन्तै न्यून तलब, र विनानियुक्तिपत्र काम लगाइएको र उमेर नपुगेका बालबालिकाले असुरक्षित रुपमा काम गरेको पाइएको बताए।
प्रमुख महिला विकास अधिकृत अनिता खनालका अनुसार नेपालभर दर्ता भएका २५ हजार मनोरञ्जनका क्षेत्र छन्। तीमध्ये राजधानीमा १२ हजार छन्। तीमध्ये ५० वटामा अनुगमन गर्दा अधिकांशमा कम उमेरका बालबालिका र केही उमेर पुगेका महिलालाई वेटरलगायत रोजगारी दिएर काम लगाइएको पाइएको छ। ती कामदारसँग नागरिकता प्रमाणपत्र नभएको तथा रोजगारदातासँग कुनै पनि सम्झौता र नियुक्तिपत्र नभएको भेटिएको जनाइएको छ ।
माइती नेपालका निर्देशक विश्वराम खड्काले स्थापनादेखि नै माइती नेपालले लामो समयदेखि बेचबिखनमा रोक लगाएको तथा त्यसविरूद्ध काम गर्ने संस्था र राज्यका अङ्गसँग मिलेर काम गरेको बताउँदै यसको न्यूनीकरणका लागि सरकार, विभिन्न संस्था र सञ्चारमाध्यमको समवन्यात्मक भूमिका हुनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।