सुर्खेत– प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ।
सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिन नसकिने निर्णय गरेको हो। यसका लागि केन्द्रलाई ध्यानाकर्षण गराउने बताइएको छ।
प्रदेशसभा संसदमा ५० प्रतिशत मत रहेको अवस्थामा अर्को पार्टीलाई नेतृत्व सुम्पिन नसकिने एमालेले जनाएको छ। एकल सरकार बनाउन र सञ्चालन गर्न सक्ने दलको हैसियत कायम रहेको अवस्थामा मुख्यमन्त्रीमा दाबी गर्ने र यसका लागि केन्द्रलाई दबाव दिने निर्णय संसदीय दलले गरेको हो।
बैठकपछि एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ६ का सहसंयोजक यामलाल कँडेलद्वारा जारी विज्ञप्तिमा एमालेका सतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले पनि यो प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ।
प्रदेश नम्बर ६ को ४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक जना सांसद छन्।
यो प्रदेशमा वाम गठबन्धनको दल माओवादी केन्द्रले दाबी गरिरहँदा एमालेको यस्तो निर्णय आएको हो। प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेबाट प्रकाश ज्वाला र यमलाल कँडेल आकांक्षी छन्। तर, प्रदेश र प्रतिनिधिसभाको चुनाव अगाडि वाम गठबन्धनका दुई दलबीच पूर्व ऊर्जामन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई यो प्रदेशको मुख्यमन्त्री बनाउने सहमति भएको थियो।
प्रदेशको संसदीय दलको बैठकले सुर्खेतदेखि काठमाडौं सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। यसका साथै सुर्खेतबाट प्रदेशका अन्य जिल्लाहरूमा समेत हवाई सेवा विस्तार गर्न पनि पहल गर्ने निर्णय बैठकले गरेको छ।
एमाले संगठन कमिटिद्वारा यसअघि जारी गरिएको प्रदेशको सुशासन, आर्थिक विकास र समृद्धिको मार्गचित्रलाई अगाडि बढाई कार्यान्वयन गर्ने निर्णय समेत भएको नेता कँडेलले जानकारी दिए।
एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेलले जारी गरेको प्रेस विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।