वासिङ्टन- टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयम अपनाउन आग्रह गरिएको छ।
टर्कीले सिरियास्थित कुर्दिस लडाकु समूह विरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ।
उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो। सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ। टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको छ। सो आक्रमणको बारेमा टर्कीले कुनै पनि स्पष्टीकरण दिएको छैन।
टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान नजाओस् भन्दै संयुक्त राष्ट्रसंघले संयमका लागि आग्रह गरेको छ। त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूह विरूद्धको कारवाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ।
उता फ्रान्सले भने जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सोमबार त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ। तर, यस विषयमा राष्ट्र संघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन।
उक्त विद्रोही समूहले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। टर्कीले गरेको यस हवाई हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अधिकारवादीहरुले जनाएका छन्। टर्कीको कुर्दिस विद्रोहीसँग सम्बन्ध भएकोले अंकाराले नै वाइपीजी नाम गरेको उक्त समूहलाई आतङ्ककवादी समूहको रूपमा हेर्दै आएको छ।
कुर्दिस लडाकू समूहलाई धपाउने कारबाहीका क्रममा टर्कीका सैनिकहरूले सिरियाको उत्तरी क्षेत्र सिनाईमा यसअघि नै प्रवेश गरेका जनाइएको थियो। उक्त कुर्दिस लडाकु समूह टर्कीको उत्तरतर्फको सीमा जोडिएको क्षेत्र अफ्रिनमा पनि विगतका केही महिनाहरुदेखि सक्रिय रहेको बताइन्छ।
उक्त आक्रमण रोकी संयम रहन अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता हिदर नउटले पनि आग्रह गरेका छन्।
उनले टर्कीलाई आग्रह गर्दै भने, 'सो आक्रमणको क्रम जतिसक्दो चाँडै रोकेर सर्वसाधारण नागरिकको ज्यान सुरक्षित हुने अवस्थाको घोषणा गरियोस्।'
टर्कीले गएका केही महिनादेखि आफ्रिन र त्यहाँबाट करिब १ सय किलोमिटर टाढाको सहर मान्बिमा रहेका कुर्दिस लडाकुलाई धपाउने चेतावनी दिँदै आएको छ।
उता हिजो मात्र पनि सिरियाको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच फोनवार्ता भएको थियो।
सिरियामा जारी रहेको करिब पाँच वर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उनीहरले छलफल गरेका रुसी विदेश मन्त्रालयका एक अधिकारीले जनाएका छन्।
सिरियामा करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा चार लाख नागरिकको ज्यान गइसकेको छ। सो हिंसामा परी त्यहाँका दसौं लाख नागरिक घरबारविहीन तथा शरणार्थी भएका छन्।
सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको थियो। तर, वार्ता सफल हुन सकेको छैन। अमेरिका र रुसको अगुवाइमा पनि यसअघि भएका विभिन्न वार्ताहरु सफल हुन सकेका छैनन्।
करिब एक वर्षअघि पनि साउदी अरेबियाले सर्वपक्षीय वार्ता आयोजना गरेको थियो। साउदी अरेवियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।