काठमाडौँ- शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गरेका छन्।
पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा आज नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा बोल्दै उनले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
'पुस्तकालयलाई व्यवस्थित गर्न डिजिटल प्रविधिलाई विद्यालय तहसम्म आत्मसात् गराउन पहल गरिएको छ,' उनले भने।
नेकपा (एमाले) का केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरु विद्यार्थी आन्दोलनमा लाग्दा पुस्तक पढ्न पाउने अधिकारका लागि लडाइँ गर्नुपरे पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रले लेखकीय र अभिव्यक्ति स्वतन्त्रता दिएकाले यसको उपयोगमा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पठन संस्कृतिको विकासका लागि राज्यका सबै निकायले पुस्तकलाई प्रवद्र्धन गर्नुपर्ने बताए। नेकपा (माओवादी केन्द्र) का पोटिलब्युरो सदस्य हिमाल शर्माले प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास र प्रवर्द्धन गर्नुपर्ने भनाइ राखे।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले प्रविधिको विकासले पुस्तकलाई मोबाइलको एपमा सीमित गरिसके पनि नयाँ पुस्तालाई आवश्यक र सन्देशमूलक पुस्तकको सही बजारीकरण हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले पुस्तक दिवसलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिनुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।