गोरखा- गोरखा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) बाट विजयी सांसद प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक आफूले नलिने घोषणा गरेका छन्। कांग्रेसबाट निर्वाचित उनले सो रकम निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरे।
गोरखामा पत्रकार सम्मेलन गर्दै दवाडीले सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग नगर्ने बताएका हुन्। 'मलाई जिताएर पठाउनुभएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु,' उनले भने।
प्रदेश 'ख'मा गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका पर्छन्। सिरानचोकमा ८ वटा, अजिरकोटमा ५ वटा र सुलिकोटमा ८ वटा वडा छन्। प्रत्येक महिनाको पारिश्रमिक फरकफरक वडामा सामाजिक कार्यमा खर्च गर्ने दवाडीले प्रतिबद्धता जनाए।
'जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु,' उनले भने, 'सधैँ जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै विजयी भएँ। आफूले पाउने सेवा सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो।'
प्रदेश सांसदको तलबबारे अहिले कानुन बनेको छैन। प्रदेशसभाले नै तलब सम्बन्धी कानुन निर्माण गरेपछि मात्र तलब निर्धारण हुन्छ। हरेक प्रदेशमा तलब फरकफरक हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।