काठमाडौं- ७ वटै प्रदेशमा मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवारको अन्तिम सूची तयार गर्न एमालेको स्थायी समिति बैठक अपराह्न बस्दैछ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा दिउँसो ३ बजे बस्ने बैठकले माओवादीको भागमा पर्ने मुख्यमन्त्रीको पनि निर्णय गर्नेछ।
प्रदेशसभाका सदस्यहरुको सपथलगत्तै मुख्यमन्त्री चयन हुन सक्ने संवैधानिक व्यवस्थाका कारण २ दल मिलेर ६ वटा प्रदेशमा सरकार गठनका लागि नाम सिफारिस गर्न अध्यक्ष ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।
५ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि नेता शंकर पोरखरेलको नाम तय भए पनि अन्य प्रदेशमा एकभन्दा धेरै व्यक्ति इच्छुक भएपछि स्थायी समिति बैठकबाट निर्णय गर्न लागिएको हो।
दाबी क-कसको?
प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेको स्पष्ट बहुमत छ। ५ बाहेक अन्य प्रदेशमा मुख्यमन्त्रीको अधिकांश दाबेदार केन्द्रीय नेताहरु नै छन्। प्रदेश ४ मा किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुवैको दाबी छ। प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले पनि आफ्नो दाबेदारी राखेका छन्।
माओवादीले ६ र ७ नम्बर वा १ नम्बर प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। प्रदेश १ मा पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमालेका शेरधन राई र भीम आचार्य दुवैले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।
राष्ट्रियसभामा माओवादीसँगको सहकार्यमा प्राप्त सिटमा उम्मेदवार हुने आकांक्षी धेरै भएपछि स्थायी समितिले टुंगो लगाउने भएको हो। मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र राष्ट्रियसभाको उम्मेदवार सम्बन्धी एजेण्डामा छलफल हुने एमाले सचिव योगेश भट्टराईले बताए।
एमालले राष्ट्रियसभामा २९ सदस्य उठाउने सहमति यसअघि नै माओबादीसँग गरेको थियो। प्रदेशसभाका लागि एमाले प्रदेश कमिटीले २ सय जनाको नाम सिफारिस गरिसकेको छ। उक्त नामबाट स्थायी समितिले उम्मेदवारहरुको नाम टुंग्याउनेछ।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।