राजविराज– शीतलहरका कारण सप्तरीमा एक घन्टाभित्रै बाबु-छोराको मुत्यु भएको छ।
शम्भुनाथ नगरपालिका–६ का ७२ वर्षीय सुभि साह र उनका ५१ वर्षीय छोरा वासुदेव साहको मृत्यु भएको हो।
चिसोका कारण अस्वस्थ बन्दै गएका बासुदेव साहलाई एकाएक दमको समस्या देखिएपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारार्थ विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको उनका छोरा जयप्रकाशले बताए।
बुवाको निधन भएको सुन्नेबित्तिकै दमकै रोगबाट पीडित उनका हजुरबवा सुभि साहको पनि एक घन्टा नबित्दै निधन भएको हो।
स्थानीय तहका पदाधिकारीहरुको जानकारी अनुसार सप्तरीमा शीतलहरका कारण हालसम्म ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। स्थानीय प्रशासनले भने १९ जनाको मात्रै पुष्टि गरेको छ। मान्छेको मृत्यु पुष्टि गर्न प्रहरीले अपनाउने झन्झटिलो कानुनी प्रक्रियाका कारण कतिपयले जानकारी नै नगराउँदा प्रशासनको तथ्यांक कम भएको स्थानीय तहका पदाधिकारी बताउँछन्।
प्रहरीको रेकर्ड अनुसार शीतलहरबाट मृत्यु हुनेहरु
सप्तकोसी नगरपालिका–१ का ६२ वर्षीय अर्जुन पोखरेल
कञ्चनरुप नगरपालिका–२ का ६० वर्षीय बेचन शेख
कञ्चनरुप नगरपालिका–३ का ६२ वर्षीया कलियादेवी सदा
खड्ग नगरपालिका–८ का ७० वर्षीय मुसहरु चौधरी
खड्ग नगरपालिका–७ का ६४ वर्षीय प्रेमबहादुर माझी
हनुमाननगर कंकालिनी नगरपालिका–१ का ६५ वर्षीया शान्तिदेवी यादव
सुरुङ्गा नगरपालिका–११ का ६५ वर्षीया दुर्गीदेवी चौधरी
सुरुङ्गा नगरपालिका– १ का ५१ वर्षीय अम्बरबहादुर पुलामी
सुरुङ्गा नगरपालिका–१० का ५५ वर्षीय बुद्धिलाल मुखिया
डाक्नेश्वरी नगरपालिका–८ का ७० वर्षीया शुभावती देवी सरदार
अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का ६५ वर्षीय लखन ठाकुर
तिलाठी कोइलाडी गाउँपालिका–४ का ७१ वर्षीय नारायण मुखिया
तिलाठी कोइलाडी गाउँपालिका–४ का ७० वर्षिया श्यामादेवी सिंह
तिरहुत गाउँपालिका–१ का ६० वर्षीया भुटनीदेवी यादव
तिरहुत गाउँपालिका–४ का ६० वर्षीया जलेश्वरी देवी साह
छिन्नमस्ता गाउँपालिका–२ का ५२ वर्षीया सरोदेवी मुखिया
छिन्नमस्ता गाउँपालिका–२ का ७० वर्षिया सरस्वती देवी साह
रुपनी गाउँपालिका–१ का २ वर्षीय बालक शिवम पासवान
सुनसरीको इनर्वा नगरपालिका–१ का ढुण्डीराज पोखरेल (उनको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह क्षेत्रमा चिसोकै कारण ज्यान गएको थियो)।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।