वासिङ्टन : अमेरिकी माथिल्लो सदन (सिनेट)ले सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएकोमा उपराष्ट्रपति माइक पेन्सले सिनेटको आलोचना गरेका छन्। खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै उनले विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको आरोप लगाए।
विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्ने भन्दै उनले भने,'सिरियाली सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीहरूलाई तलब जसरी पनि खुवाउनु पर्छ ।सरकारले यसका लागि छिट्टै कुनै उपाय सोच्ने छ।' सेनाका परिवार र सेनाले कुनै चिन्ता लिनुनपर्ने बताउँदै उनले भने,'तपाईहरू तलब खान योग्य हुनुहुन्छ।'
शनिबार विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न बाटो खुल्ने थियो। सरकार, रिपब्लिकन पार्टी र डेमोक्रेट्सबीच समस्या समाधान गर्न केही प्रगतिका सङ्केत देखा परेको उनको दावी छ ।
फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन नसकेको हो ।
पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत बाल्यकालमा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।
खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो । रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।