नेपालगञ्ज– अञ्चलाधीश कार्यालय भेरीका पूर्व कार्यालय सहयोगी तथा मेनपावर एजेन्ट अब्दुल हक खाँले ६ जना युवालाई वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ४ लाख रुपैयाँ ठगी गरेका छन्।
बाँकेको जानकी गाउँपालिका ६ बुढई गाउँका खाँले प्रशासन कार्यालयमा पहुँच भएको भन्दै जानकी–६, कोठारपुरका एकै परिवारका ४ सहित ६ युवालाई ठगी गरेका थिए। एकै परिवार चार जना मौफुज, हारुन, फारुक र सारुख अलि नाउ तथा सोही गाउँकै कयामत अलि नाउ र सान्तब्रेज अलि नाउको पासपोर्ट र पटकपटक गरेर ४ लाख रुपैयाँ लिएर ठगी गरेको पीडितहरुले बताएका छन्।
दुबईको लाल सुपरमार्केटमा क्लिनर इन्डोर काम लगाइदिने भन्दै खाँले ६ जनासँग पटकपटक गरेर जनही ६६ हजार ६ सय ६६ लिएका थिए। वैदेशिक रोजगारीमा जाने आसमा उनीहरुले घरजग्गा दृष्टिबन्धक गरी व्यापारीसँग मासिक ५ प्रतिशतसम्म ब्याजमा रकम निकालेर खाँलाई दिएका थिए।
एजेन्ट खाँले स्वास्थ्य परीक्षण गर्न एक पटक र विदेश नै जानका लागि भन्दै दुई पटक ६ जनालाई नै काठमाडौं बोलाएका थिए। विदेश उड्ने तयारीका साथ काठमाडौं आएका ती युवा पहिलो पटक १८ दिन र दोस्रो पटक २३ दिनसम्म बस्दा पनि उड्न नपाएपछि घर फर्किएका थिए।
विदेश पठाइदिन्छु भन्दै आफूहरुलाई ठगी गरेको भन्दै पीडित युवाहरुले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका थिए। प्रहरीले खोजी गरेपछि एजेन्ट खाँले ०७४ जेठ १८ गते तमसुक गरी ०७४ भदौ १५ भित्र विदेश पठाउने र पठाउन नसके ४ लाख र त्यसको हर्जाना, भाडा समेत बुझाउने भनी कागज गरेका थिए।
त्यसरी कागज गरेको ५ महिनासम्म पनि एजेन्ट खाँले भोलि–पर्सि भनेर झुलाउँदै आएको पीडित युवा मैफुज अलिले बताए।
‘अहिले त फोन गर्दा पनि लाग्दैन, सम्पर्कमै छैनन्’ पैसा असुलीका लागि कानुनी प्रक्रिया अघि बढाएका पीडितहरु भन्छन्।
मौफुजका दाजुभाइले छिमेकमै घर भएका मामाको ५ धुरको घरजग्गा दृष्टिबन्धक राखेर दुई लाख ५० हजार रुपैयाँमा मासिक ४ प्रतिशत ब्याजमा पैसा लिएका थिए।
नपुग पैसा घरको गरगहना बेचेर एजेन्ट खाँलाई दिएका थिए। एजेन्ट खाँको बदमासीले गर्दा विदेश गएर कमाउने सबै सपना चकनाचुर भएको र मामाको घरजग्गा लिलामी हुने अवस्था आएको मैफुजले बताए।
पीडित युवाहरुले पिपुल्स फोरमको सहयोगमा खाँका बाबुछोराबाट ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा गत पुस १७ गते लिखित उजुरी दिएका छन्। एजेन्ट खाँका छोरा इमाउल हक जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन्।
कार्यालय सहयोगी इमाउलले प्रशासन कार्यालयमा राहदानी बनाउन आउने युवालाई मेरा बुवा मेनपावरका एजेन्ट हुन् तिमीहरुलाई विदेशमा राम्रो ठाउँमा पठाइन्छिन् भन्दै प्रलोभनमा पारेर आफ्ना बुवासँग भेट गराउने गरेको पीडितहरुले बताएका छन्।
इमाउलले फारुक र सारुखको पासपोर्ट आफैंले बुझेर मेनपावर कम्पनीका एजेन्ट आफ्ना बुवालाई दिएको पीडित युवा बताउँछन्।
वैदेशिक रोजगारीका नाममा युवाहरुलाई ठगी गर्ने कार्यमा इमाउलको पनि संलग्नता रहेको भन्दै लिखित उजुरी परेपछि कार्यालय सहयोगी खाँमाथि छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय बाकेका सूचना अधिकृत खगेन्द्र पौडलले बताए।
कार्यलय सहयोगी इमाउलले भने बुवाले एजेन्टको रुपमा काम गर्ने भएकाले गाउँकै चिनेजानेका युवाहरुलाई राहदानी बनाउन सहयोग गरेको बताए।
जिल्ला प्रशासन कार्यालयमा पीडितले बुझाएको लिखित उजुरी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।