काठमाडौं– भारतीय सरकारको लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ। भारत सरकारको स्वामित्वमा रहेको एसजेविएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएका हुन्।
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताए।
‘सरकार र उर्जा मन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामीले मिलाएका छौं। तपाईंहरुले समयसीमा भित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ,’ मन्त्री पुनले भेटमा भने।
एसजेविएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण तेस्रो जलविद्युत परियोजना समयसीमाभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाए। उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए।
धिमानले टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको बारेमा चासो राखेको बताइएको छ। जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतिको बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रहसमेत गरेका बुझिएको छ।
उनले नेपालमा पछिल्लो समय लगानीको लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागि इच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए।
९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कूल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।