रौतहट– बम विस्फोटमा परेर दुई महिनादेखि चितवनमा उपचार गराए पनि तिर्ने पैसा नभएपछि अस्पतालमै रहेका आमा र छोरालाई रौतहटका पूर्व सांसद रामकुमार भट्टराईले घर फर्काएका छन्।
रौतहटमा भएको बम विस्फोटमा घाइते भएका सरिता राई र उनका छोरा जैविकलाई पूर्व सांसद भट्टराईले जमानी बसेर आइतबार अस्पतालबाट निकालेका हुन्। विस्फोटमा परेर सरिताको एउटा खुट्टा काट्नुपरेको थियो भने छोरा जैविकको दुवै खुट्टामा गम्भी चोट लागेको थियो।
उनीहरुलाई एक साताअघि नै पैसा तिरेर डिस्चार्ज हुन अस्पतालले भने पनि उपचार खर्चवापतको ठूलो रकम तिर्न नसकेपछि घर फर्कन सकेका थिएनन्। सरिताको उपचार खर्च ६ लाख २५ हजार भएको छ भने छोराको उपचारमा ४ लाख २९ हजार लागेको बताइएको छ।
उनीहरुले क्यान्टिनमा खाना खाएको बाँकी रकम ५२ हजार रुपैयाँ भने पूर्व सांसद भट्टराईले तिरिदिएका छन्।
प्रदेश र प्रतिनिधिसभाको चुनाव अगाडि गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका ५ मा आयोजित भेलामा बम विस्फोट हुँदा सरिता र उनका छोरासहित एक दर्जनभन्दा बढी मानिस घाइते भएका थिए।
उपचार खर्चका लागि सरकारसँग पहल गरे पनि अहिलेसम्म नपाएको पूर्व सांसद भट्टराईले गुनासो गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।