काठमाडौं- त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ 'बी' २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ। आयोजनामा ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ।
त्रिशूली नदी किनारमा सब स्टेसनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ। सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिना भित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने आयोजनाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका-५, पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।
प्रसारण लाइन र सबस्टेसननको अभावमा जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणसमेतको लगानी रहेको आयोजनाको विद्युत खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका हुन्।
घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए। निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिए।
‘यो सबस्टेसन एक वर्ष भित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १ सय ६८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नुपर्ने अवस्था आउनसक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ जरिवाना तिर्नुपर्छ,' कार्यकारी निर्देशक घिसिङले भने, ‘निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तीब्रता दिनुपर्छ।’
सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ।
गत जेठमा केही स्थानीयबासीले नियतबस विभिन्न माग राखी सबस्टेसन निर्माणमा अवरोध गरेका थिए। अवरोधलाई लिएर आक्रोसित घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए। स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी दिएका थिए।
यसको प्रभाव सकारात्मक परेको भन्दै उक्त सबस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेका अन्य प्रसारण लाइन निर्माणमा समेत स्थानीयले अवरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले दाबी गरे।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो। आयोजना निर्माणमा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण लगानी रहेको छ। आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ।
चिलिमे–त्रिशूली प्रसारण लाइनको प्रगति ४५ प्रतिशत
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत छ।
आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ 'बी' २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिममा सबस्टेसन निर्माण गरिरहेको छ। आयोजनाको सर्भे र डिजाइन सकिएको छ। टावरका उपकरणको उत्पादन भइरहेको छ।
'जनताको जलविद्युत कार्यक्रम'अन्तर्गत चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिनेछ।
आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ 'बी' हबसम्म ८ किलोमिटरको चार सर्किट निर्माण गर्नेछ।
प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए।
‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्नेछ, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानीलगयात मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था छ,' उनले भने। ठाउँठाउँमा पहिरो गएकाले कामलाई तीब्रता दिन नसकिएको उनको भनाइ छ।
प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र र चिलिमे हब सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ। त्रिशूली ३ 'बी' हव सबस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी 'पिङगाओ' हो।
३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक (केएफडब्लू) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी)को लगानी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।