काठमाडौं– पक्राउ पर्ने डरले प्रदेश सांसदमा निर्वाचित गुन्डा नाइके दीपक मनाङे(राजीव गुरुङ) फरार भएका छन्। पक्राउको तयारी भएको सूचना पाएपछि उनी आइतबार सपथ लिन गएनन्।
मनाङको प्रदेश ख बाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी तीनदिन यता भूमिगत छन्। गत बुधबार सर्वाेच्च अदालतले पुनरावेदन अदालतको उनलाई ५ वर्ष कैद सजाय फैसला सदर गरेको भोलीपल्टै उनी फरार भएका हुन्।
प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो। आफुलाई प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि उनी त्यहाँ नगएको स्रोत बताउँछ। स्रोतका अनुसार प्रहरी मुख्यालयले उनलाई पक्राउ गर्न कास्की प्रहरीलाई निर्देशन दिएको थियो। मनाङे उपस्थित भएको भए आफुहरुले पक्राउ गर्ने कास्कीका एसपी अशोक सिंहले बताए।
आफुले प्रयोग गर्ने मोबाइल काठमाडौंमै छाडेर उनी भूमिगत भएको स्रोत बताउँछ। मनाङेलाई पक्राउ गर्न प्रहरी टोली खटिइसकेको छ। स्रोतका अनुसार आफुलाई पक्राउको तयारी भइरहेको सूचना पाएपछि बिहिबारदेखि नै उनी भूमिगत भएका हुन्।
गुन्डा नाइके मिलन चक्रे(मिलन गुरुङ)लाई २०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये २ वर्ष उनी जेल बसिसकेको ३ वर्ष कैद भुक्तान हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।