सुर्खेत– हुम्लाबाट प्रदेश नम्बर ६ को सांसदमा निर्वाचित जीवनबहादुर शाहीले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि भने, ‘मैले चुनावअघि पनि मतदातामाझ आफ्नो कार्यकालमा कर्णालीको मुहार बदल्ने वाचा गरेको थिएँ, अब निर्वाचित जितिसकेपछि मेरो भूमिका सोही वाचा पूरा गर्नेमा केिन्द्रत हुनेछ।’
यस्तै, डोल्पाबाट समानुपातिक सांसद बनेकी बद्मी क्वारी बोहोराले आजसम्म पिछडिएको कर्णालीलाई अब समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न आफू सांसद बनेको बताइन्। उनले कर्णालीको विकासविना प्रदेश नम्बर ६ को समृद्धि सम्भव नहुने दावी गरिन्।
शाही र बोहोराले जस्तै कर्णालीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीको मुहार बदल्नु नै आफूहरुको प्राथमिकता रहेको बताएका छन्। उनीहरुको साझा अठोट छ, अबको पाँच वर्षभित्र कर्णालीलाई समृद्ध बनाउने।
प्रदेश नम्बर ६ को भूगोल सुहाउँदो र गरिबी र अभावले थिचिएको कर्णालीको पहिचान बदल्ने गरी काम गर्ने सांसद शाहीले बताए। उनले देशको सबैभन्दा गरीब र कम विकसित यो प्रदेशको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने दावी गरे। यसका लागि सडक सञ्जालको विस्तार, हवाई यातायातको विकास लगायत स्वास्थ्य, शिक्षा र सञ्चारको विकासका योजना सञ्चालन गरिने शाहीको भनाइ छ।
कालिकोटबाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीले कर्णालीको भोक, अशिक्षा, गरिबी र सामाजिक विभेद अन्त्य गर्दै नमुना क्षेत्रको रुपमा विकास गरिने बताए।
‘कर्णालीले अहिलेसम्म जे–जस्ता अभावहरु बेहोर्नु परे पनि अब त्यसको अन्त्य हुन्छ, हामी त्यही जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौं’ उनले भने।
कर्णालीका सांसदहरुले तत्काल हुम्ला र डोल्पामा सडक पुर्याउन, स्वास्थ्य सेवा सुधार्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने, जलविद्युत् र जडिबुटीको उपयोगको योजना ल्याउने, कृषिमा आधारितक उद्योगको विकास गर्ने लगायतका योजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
‘भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक सुधार लगायतका कार्यक्रम सञ्चालनमा जोड दिईने छ’ सांसद नरेश भण्डारीले भने, ‘कर्णालीको मुहार बदल्न हामी मिलेर काम गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।