काठमाडौं- सात वटै प्रदेशका सांसदहरुले सपथ खाएलगत्तै मुख्यमन्त्री, सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ।
संविधानको व्यवस्था अनुसार प्रदेशको सभामुखरउपसभामुख भन्दा मुख्यमन्त्री पहिले पाउने देखिएको छ।
बहुमतप्राप्त दलको संसदीय दलको नेता वा अन्य दलको सहकार्यमा बहुमतको समर्थन पाउने प्रदेश सदस्य मुख्यमन्त्री चयन हुने संविधानमा उल्लेख छ।
संविधान अनुसार प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सात मुख्यमन्त्री नियुक्त हुनुपर्नेछ। उक्त व्यवस्था अनुसार अब २६ दिनभित्र मुख्यमन्त्री चयन हुनुपर्नेछ। निर्वाचन आयोगले प्रदेशसभातर्फको अन्तिम मतपरिणाम माघ ३ गते सार्वजनिक गरेको थियो।
संविधानमा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। प्रदेश सभामा बहुमत प्राप्त भएको विवरण देखाएमा प्रदेश प्रमुखले तत्कालै मुख्यमन्त्री चयन गर्नेछ। मुख्यमन्त्री चयनका लागि प्रदेशसभाको पहिलो बैठक कुर्नुपर्ने देखिँदैन। एउटै पार्टीको बहुमत नपुगेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री हुने उल्लेख छ।
मुख्यमन्त्री नियुक्त भएपछि तीन दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
सभामुख पहिलो बैठक बसेको १५ दिनमा
संविधानको धारा १८२ ले प्रदेशको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन हुनुपर्ने व्यवस्था गरेको छ। प्रदेश सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने र एक जना महिना हुनुपर्ने अनिवार्य व्यवस्था संविधानमा गरिएको छ।
संविधानको धारा १८३ अनुसार प्रदेशसभाको पहिलो बैठक अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र बस्नुपर्ने व्यवस्था छ। संविधानको उक्त व्यवस्था अनुसार सातै प्रदेशले २३ गतेसम्म प्रदेशसभाको पहिलो बैठक राख्नुपर्नेछ।
सो व्यवस्था अनुसार फागुन ९ गतेसम्म सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।