काठमाडौं– फिल्म ‘हुर्रे’ को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा अभिनेत्री नीता ढुंगाना पहिलो पटक आइटम डान्सरका रुपमा देखिएकी छिन्।
'बाँचे'नि पशुपति, मरे'नि पशुपति' बोलको आइटम डान्समा नीताले उन्मुक्त भावमा कम्मर मर्काएकी छिन्।
कालीप्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत तथा स्वर छ। गीतमा कालीप्रसादलाई गायिका झुमा लिम्बूले सघाएकी छिन्। धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नीताका साथै राजाराम पौडेल, कामेश्वर चौरसिया, अंकित खड्का लगायत देखिएका छन्।
यसअघि सार्वजनिक फिल्मको पहिलो गीत ‘ठेकीमा दही’ ले राम्रो प्रतिक्रिया पाएको थियो।
पहिलो पटक आइटम गीतमा देखिएकी नीताले आइतबार गीत सार्वजनिकीकरण कार्यक्रममा आइटम नृत्य गर्न पाउँदा निकै खुसी लागेको बताइन्।
'आफूभन्दा सिनियरसँग स्क्रिन सेयर गर्न पाउँदा अझ बढी हौसिएकी छु', उनले भनिन्, 'फिल्मको नाम राम्रो र गीत पनि त्यत्तिकै राम्रो भएकाले मैले काम गरेकी हुँ।’
यम थापाको लेखन तथा निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा केकी अधिकारी, अनुपविक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको मुख्य भूमिका छ। फिल्म आउँदो फागुन २५ देखि प्रदर्शन हुँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।