काठमाडौं- एमाले अध्यक्ष केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन्।
आइतबार अपराह्न भएको टेलिफोन कुराकानीमा मोदीले भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रेस संयोजक अधिकारीले जारी गरेको प्रेस नोटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएको उल्लेख छ।
‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन्’, प्रेस नोटमा भनिएको छ, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्विकार्दै नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ।’
मोदीले यसअघि पुस ६ गते पनि ओलीलाई फोन गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए।
यस पटकको कुराकानीमा ओलीले मोदीलाई जनकपुरको रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आउन आग्रह गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।