काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालले अरनिकोको पालादेखि नै नियात्राको विकास गरेको बताएका छन्।
साहित्यकार कलाधर काफ्लेको 'सेक्सपियरको देशमा' नामक पुस्तकको शनिबार विमोचन गर्दै शताब्दी पुरुष जोशीले आजभन्दा ७ सय वर्षअघि नै देशका विभूति अरनिकोले चीनमा गएर नेपालको कला, संस्कृति तथा बुद्धको चैत्यसम्बन्धी आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरेर नेपाललाई चीनमा परिचित गराएको बताए।
उनले अरनिकोले आठ वर्ष लगाएर चीनमा विशाल चैत्य बनाएको र यसले नेपाल–चीनबीचको मित्रतालाई जनस्तरमा विस्तार गरेको उल्लेख गरे।
उनले विश्वमा पहिलोपटक इटालीका विश्व प्रसिद्ध साहित्यकार मार्को पोलोले विश्वमा पहिलोपटक नियात्रा सङ्ग्रह प्रकाशित गरेको र यसको फाइदा कोलम्बसलाई अमेरिका पत्ता लगाउन सजिलो भएको चर्चा गरे। जोशीले नियात्राकार, अनुसन्धानकर्ता तथा लेखक मार्को पोलोले चीनको यात्रा गरेर चीनबारे युरोपलाई ज्ञान दिएको र सोही समयमा अरनिकोले चीनमा नेपालको प्रचार गरेको स्मरण गरे।
शनिबार लोकापर्ण गरिएको 'सेक्सपियरको देशमा' नामक पुस्तकमा चार खण्ड छन्। १५ यात्रा निवन्ध, बेलायतका यात्राका क्रममा रहेका तस्बिरहरु तथा परिचय पुस्तकमा समेटिएको छ। पुस्तकमा सेक्सपियर प्रतिको सम्मान, नेपालमा कर्मचारीको अवस्था तथा उनीहरुका खराब व्यवहार वर्णन गरिएको छ।
कार्यक्रममा समीक्षक रामप्रसाद ज्ञवालीले पुस्तकमा बेलायत यात्रा र सेक्सपियरको वर्णन राम्रोसँग गरिएको बताए। डा घनश्याम खतिवडाले देशमा रहेका विभिन्न कला, साहित्य तथा भाषाले बाहिरी विश्वमा परिचित गरेको बताए।
कार्यक्रममा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार जीवेन्द्रदेव गिरी, साहित्यकार वासुदेव त्रिपाठी, लेखक कलाधर काफ्ले, कवि ठाकुर शर्मालगायतका वक्ताले निवन्धको विविध पक्षमा प्रकाश पारेका थिए। रासस/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।