स्विजरल्यान्ड (एजेन्सी)- आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियाको प्योङच्याङमा आयोजना हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको तर्फबाट ३ खेलमा २२ खेलाडी सहभागी हुने टुंगो लागेको छ।
शनिबार अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)को प्रधान कार्यालय स्विजरल्यान्डको लौसानेमा भएको त्रिपक्षीय वार्तापछि ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषय टुंगो लागेको हो।
करिब २ वर्षपछि गत जनवरीको ९ तारिखमा भएको उच्चस्तरीय वार्तामा नै उत्तर कोरिया ओलम्पिकमा सहभागी हुने दुई देशबीच सहमति भएको थियो। तर, कुन खेलमा कति खेलाडी सहभागी हुने भन्ने विषय टुंगो लागेको थिएन।
ओलम्पिकको उद्घाटन सत्रमा गरिने मार्चपासमा दुवै कोरिया एकै झन्डामुनि रहेर सहभागी हुने आईओसीका अध्यक्ष थोमस बचले बताए।
सो सम्झौतालाई ‘लामो यात्राका लागि कोसेढुंगा’को रुपमा इंगित गर्दै उनले महिला आइस हक्की खेलमा दुवै कोरियाको संयुक्त टोलीलाई मैदानमा उत्रिन अनुमति दिइएको जानकारी दिए। यसका साथै उत्तरले स्केटिङ र स्किङ खेलमा पनि सहभागिता जनाउनेछ।
‘आसन्न शीतकालीन ओलम्पिकले कोरियाली प्रायद्वीपमा एक उज्ज्वल भविष्यका लागि ढोका खुला गरिदिनेछ', अध्यक्ष बचले सबैलाई आह्वान गरे, 'त्यसकारण हामी यो उल्लासमय वातावरणमा विश्वलाई सामेल हुन आमन्त्रण गर्छौं।’
आइओसीसँगको त्रिपक्षीय वार्तामा उत्तरको तर्फबाट खेलकुद मन्त्री एवं ओलम्पिक कमिटिका प्रमुख किम गुक र दक्षिणबाट संस्कृति, खेलकुद तथा पर्यटन मन्त्री दो जोङ ह्वानसहितको टोली सहभागी भएको थियो।
यस्तै, प्योङच्याङ ओलम्पिकका प्रमुख लि हे वियोम र दक्षिण कोरियाको नेसनल ओलम्पिक कमिटिका अध्यक्ष लि कि हियोङ पनि बैठकमा सहभागी थिए।
‘ओलम्पिक कोरियाली प्रायद्वीप सम्झौता’मा भएका बुँदा:
१) दक्षिणबाट २३ जना खेलाडी सामेल हुने संयुक्त आइस हक्की टोलीमा उत्तरबाट १२ खेलाडि र १ जना अफिसियल संलग्न हुनेछन्। दक्षिण कोरियाका प्रमुख प्रशिक्षकले सम्हाल्ने टोलीमा उत्तरबाट कम्तीमा ३ खेलाडीलाई मैदानमा उतार्नुपर्नेछ।
२) आधिकारिक रुपमा दर्ता गर्ने समय सीमा सकिए पनि उत्तर कोरियालाई स्केटिङ खेलमा प्रवेश दिइएको छ। उत्तरबाट सो खेलमा र्योम ताइ ओक र किम जु सिकको जोडीले प्रतिस्पर्धा गर्नेछ।
३) उत्तर कोरियालाई सट ट्रयाक स्पिड स्केटिङमा २ वटा अतिरिक्त स्थान दिइनेछ। जसमा जोङ क्वाङ बुमले १५ सय मिटर र चोए उन सोङले ५ सय मीटरमा उत्तरको प्रतिनिधित्व गर्नेछन्।
४) क्रस कन्ट्री स्किङमा २ जना पुरुष खेलाडीहरु हान चुन ग्योङ र पाक इल चोलले १५ किमी फ्रिस्टाइल तथा १ महिला खेलाडी री योङ गुमले १० किमी फ्रिस्टाइलमा सहभागी हुनेछन्।
५) अल्पाइन स्किङ स्पर्धामा उत्तर कोरियालाई ३ स्थान दिइएको छ। चोए म्योङ ग्वाङ र काङ सोङ इलले पुरुष इभेन्टमा प्रतिस्पर्धा गर्दा किम योर्न ह्याङले महिला स्पर्धामा उत्तरको प्रतिनिधित्व गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।