काठमाडौं- वाम घटक दुई विद्यार्थी संगठनले वीरगञ्जस्थित छपकैयामा नेपाली भूमि मिचेर भारतीय पक्षले सीमा स्तम्भ गाडेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
स्थलगत अवलोकनका लागि पर्सा पुगेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोलीले ३ सय ९१ स्तम्भदेखि ३ सय ९३ स्तम्भसम्म करिब १ सय ३८ फिटको दरले ३ किलोमिटरसम्म नेपाली भूमि मिचिएको जनाएको छ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको र नेपाल सरकारद्वारा वितरीत लालपुर्जा समेतको प्रमाण हेर्दा करिब ५० बिघाभन्दा बढी नेपाली जमिन मिचिएको छ।'
सुगौली सन्धिताकाको नदी सिमानाको हवाला दिएर तयार गरिएको सीमा नक्सा नै गलत रहेको र त्यसैमा गम्भीर राष्ट्रघात भएको दुई विद्यार्थी संगठनको ठहर छ।
दुवै देशको उच्चस्तरबाट वैधानिकता नपाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले भौतिक पूर्वाधार निर्माण गरिनुले उसको मिचाहा प्रवृत्तिको उजागर गरेको उनीहरुले जनाएका छन्।
विद्यार्थी संगठनहरुले सीमा नक्साको अविलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कूटनीतिक माध्यमबाट सीमा समस्याको स्थायी समाधान खोज्न सरकार लगायत सबै सरोकारवाला निकायसँग माग गरेको छ।
साथै नेपाली सीमा रक्षाको लागि दबाव, जागरण र खबरदारीको अभियानमा सामेल हुन समेत दुई विद्यार्थी संगठनले अपिल गरेका छन्।
पर्सामा मिचिएको नेपाली भूमिको स्थलगत अवलोकन गर्न दुई विद्यार्थी संगठन केही दिनअघि पर्सा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।