सुर्खेत– प्रदेश नम्बर ६ का सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार दिउँसोे जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा यो प्रदेशका ४० जना सांसदले पद तथा गोपनीयतको सपथ लिएका हुन्।
उनीहरूलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालको उपस्थितिमा ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सपथ ग्रहण गराएका हुन्। त्यसअघि प्रदेश प्रमुख खनालले ज्येष्ठ सांसद हिमबहादुर शाहीलाई सपथ ग्रहण गराएका थिए।
पद तथा गोपनीयताको सपथ लिएपछि सांसदहरुले प्रदेश नम्बर ६ लाई समृद्ध बनाउन आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रदेश सांसद सुशील थापाले विकासका दृष्टिले पछाडि परेको यो प्रदेशलाई समृद्ध बनाउनु नै आफ्नो प्रमुख कर्तव्य भएको बताए। उनले त्यसका लागि आफूले संसदभित्र रहेर पहल गर्ने बताए।
अर्का सांसद ठम्मरबहादुर विष्टले प्रदेश नम्बर ६ सम्भावनाहरुले भरिएको भन्दै यहाँ उपलब्ध स्रोत–साधनको समुचित प्रयोगद्धारा पाँच वर्षभित्र यहाँको गरीबी अन्त्य गर्न भूमिका निर्वाह गर्ने बताए।
त्यसैगरी सांसद धर्मराज रेग्मीले आवश्यक नीति निर्माण गर्दै प्रदेशको विकास र यहाँका नागरिकको जीवनस्तरमा आमूल सुधार गर्नु नै आफूहरुको कर्तव्य भएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।