डडेल्धुरा- डडेल्धुरामा स्थानीय निर्वाचनका अधिकांश उम्मेदवारले खर्च विवरण अहिलेसम्म बुझाएका छैनन्। संघीय निर्वाचन तथा प्रदेश निर्वाचनका उम्मेदवारहरुले खर्चको विवरण बुझाएको भए पनि स्थानीय तह निर्वाचनका अधिकांश उम्मेदवारले निर्वाचन कार्यालयमा खर्चको विवरण नबुझाएका हुन्।
डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार शेरबहादुर देउवाले निर्वाचन कार्यालय डडेल्धुरामा २३ लाख ४ हजार ५ सय खर्च भएको विवरण पेस गरेका छन्। उनका प्रतिद्वन्द्वी खगराज भट्टले १३ लाख ५५ हजार, कर्णसिंह रावलले ४ लाख ४१ हजार खर्च भएको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ।
उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाईसहित आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था छ।
अहिलेसम्म डडेल्धुरामा संघीय तथा प्रदेश निर्वाचनका सबै उम्मेदवारले विवरण बुझाएका छन्। स्थानीय निर्वाचनमा विजयी एक हजार दुई उम्मेदवार रहेकोमा अहिलेसम्म ५ सय २० जनाले मात्र विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कृष्णसिंह नायकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।