काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनको मिति तय मंसिरपछि हुने भएको छ। जारी केन्द्रीय समिति बैठकमा संस्थापनइतर पक्षका नेताहरूले तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेपनि महाधिवेसन कार्यतालिका तीन महिनापछि आउने भएको छ।
केन्द्रीय सदस्य नरहरी आचार्यको संयोजकत्वमा बनेको समितिले तयार पारेको क्रियाशील सूचीलाई अध्यावधिक गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ।
महामन्त्री पूर्ण बहादुर खड्काले क्रियाशील सूचिलाई अध्यावधिक गरेपछि मात्रै कार्यतालिका ल्याउने प्रस्ताव बैठकमा राखेका थिए।
१३औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम अन्तरिम संरचना गठन गरिने जनाइएको छ। तल्लो तहका संरचना निर्माणको मोडालिटी बनाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको छ।
पदाधिकारीले बनाउने निर्देशिका साउन २२ मा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने बताइएको छ।
सभापति शेर बहादुर देउवाले अन्तरिम संरचनाको मोडालिटी तयार गर्न उपसभापति विमलेन्द्र निधि र महामन्त्रीद्धय शशांक कोइराला र पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिएका थिए।
अन्तरिम संरचनाको नभइ महाधिवेशन कार्यतालिका ल्याउन नसकिने संस्थापन पक्षले अडान राखेपछि मोडालिटी तय गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।