काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेको माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा समेत नेकपा एमालेसँग मिलेर उम्मेदवारी दिँदैछ। कुल ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धनका दुई दलले सिट बाँडफाँट गरेका छन्। सहमती अनुसार राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रले १४ उम्मेदवार उठाउनेछ भने एमालेले २९ सिटमा उम्मेदवार तय गर्नेछ। माओवादी केन्द्रका नेता मातृका यादवको दाबी अनुसार वाम गठबन्धनले जित्ने पक्का भएका स्थानको मात्र सिट बाँडफाँट गरिएको हो।
दुवै दलबाट गठित कार्यदलले आफूले पाएको सिट अनुसारको क्लस्टरको समेत वर्गीकरण गरिसकेका छन्। दलको स्थिति, उम्मेदवारको योग्यता, सन्तुलन र एकताको स्पिरिटजस्ता विषयलाई मापदण्ड बनाएर तय गरिएको सिटमा माओवादीले १४ उम्मेदवार राष्ट्रियसभामा उठाउनेछ।
त्यसका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडादेखि नेताहरुको घरसम्म सम्भावित उम्मेदवारले दौडधुप सुरु गरिसकेका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले कुनै विशेष मापदण्ड तय गरेको छैन। न त एमाले जस्तो तल्लो कमिटीबाट सिफारिसको प्रक्रियालाई अवलम्वन गरेको छ। तर, राष्ट्रियसभामा जान माओवादी केन्द्रभित्र प्रतिस्पर्धा भने चर्कै छ।
यस्ता छन् सम्भावित उम्मेदवार
माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा वादलले प्रतिनिधिसभा निर्वाचन लडेनन्। राष्ट्रियसभा निर्वाचनमा माओवादी नेतृत्वले उनलाई ल्याउन चाहेको छ। स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा वादल प्रवेश भएपछि माओवादी केन्द्रबाट सरकारको नेतृत्व उनले नै गर्ने सम्भावना प्रवल छ। वादललाई राष्ट्रियसभा मार्फत सांसद बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि इच्छुक छन्।
वादलले यस विषयमा निर्णय गरेका छैनन् तर पार्टी कार्यकर्तासँगको भेटमा राष्ट्रियसभामा उठ्न पार्टी नेतृत्वबाट दबाब आएको स्वीकार गरेका छन्। एमालेसँगको सहमती अनुसार प्रदेश ३ मा माओवादीले पुरुष उम्मेदवार उठाउनेछ। त्यसमा वादलसँगै माओवादी केन्द्रका अर्का नेता अमित शेरचन मध्ये एकले राष्ट्रिय सभामा प्रवेश पाउनेछन्।
प्रदेश २ मा माओवादी केन्द्रले एक महिला उम्मेदवार उठाउनेछ। सो सिटका लागि प्रवल दाबेदारका रुपमा मिना यादवको नाम चर्चामा छ। यादव सर्लाहीका माओवादी केन्द्रका नेता शिवपुजन राय यादवकी श्रीमती हुन्। स्थानीय निर्वाचनको सँघारमा राजपा नेपालबाट माओवादी केन्द्र प्रवेश गरेका यादवले माओवादी केन्द्रलाई २ स्थानीय तहमा विजयी गराउन भूमिका खेलेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार दिएका यादवले भने कूटनीतिक राहदानी दुरुपयोगको अभियोगमा चुनाव लड्न पाएनन्। तर, राष्ट्रियसभा निर्वाचनमा यादवले श्रीमती मिनालाई उम्मेदवार बनाउन चाहेका छन्।
राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रबाट चर्चामा रहेका सम्भावित उम्मेदवार
प्रदेश-१ : टंक राई, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र हेमराज भण्डारी
प्रदेश-२ : मिना यादव, उर्मिला अर्याल
प्रदेश-३ : रामबहादुर थापा बादल, अमिक शेरचन
प्रदेश-४ : दीनानाथ शर्मा, लेखनाथ न्यौपाने, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश-५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य
प्रदेश-६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा केबी रोकाय
प्रदेश-७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, कौशिल्य ओझा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।