जितपुर, कपिलवस्तु- दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन्।
उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान) मा पुगी सामूहिक प्रार्थना गरेका हुन्। कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन्।
निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रीडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए।
कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन्। तिलौराकोट बुद्धको क्रीडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ। निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहुलसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।