न्यूयोर्क - सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनी सम्भवत सवैभन्दा धेरै विवादास्पद बने।
अमेरिकीहरूले एक भूमिपतिलाई नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुविकरणलाई उनले आफ्नो कार्यकालको एक वर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन्। अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।
कर कटौती विधेयकका विषयमा वर्तमान् राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा हस्ताक्षर गरी कानूनको कार्यान्वयनको लागि पठाइएको छ। यसलाई लिएर उहाँको प्रशंसा तथा आलोचना दुबै बराबर देखिएको छ । करसम्बन्धि कानून ठूला व्यापारिक प्रतिस्ठान तथा धनीलाई उपहारको रूपमा रहेको बताइन्छ । यसले औसत अमेरिकीलाई भने थोरैमात्र प्रभाव पार्ने अनुमान गरिएको छ ।
अमेरिकी शहर सान फ्रान्सिस्कोमा एक बैंकमा कार्यरत मुन ट्रोउङले भने,'करसुधार सम्बन्धि कानूनले वित्तीय संस्थालाई सहयोग पुगेको छ । कानून कार्यान्वयनमा आएसँगै बैंकले म र मजस्ता कामदारलाई थप एक हजार अमेरिकी डलर बोनस दिएको छ ।'
कानूनले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेमा शङ्का छैन । करसुधार नीति अन्तर्गत कर्पोरेट कर दरलाई ३५ प्रतिशतबाट घटाएर सन् २०१८ देखि २१ प्रतिशतमा झारिएको छ ।
ट्रम्पको नीतिले अमेरिकी धितोपत्र बजारमा तीव्र वृद्धि भएको र बेरोजगार दर घटेर गएको न्यूयोर्कका वित्तीय परामर्शदाता सान्डन के साफियरले दावी गरे। ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा पलाएको उनी बताउँछन्।
ट्रम्पका सहयोगीले पनि उनको निर्वाचनका समय गरेका प्रतिवद्धताप्रति राष्ट्रपति सचेत रहेको बताएका छन् । उनले घोषणा गरेका कार्यक्रमबाट फाइदा प्राप्त गर्ने केहीले भने पहिलो वर्षमा केही सुधारका काम सुरु भएको बताउँछन् ।
कोलोराडोका एक सफल कृषक काइल स्मिथले भने,'मलाई ट्रम्पले धेरै राम्रा कामको थालनी गर्नुभएको जस्तो लाग्छ ।'
ट्रम्पको पहिलो वर्ष निकै सफल भएको बताउँदै ग्रिलीस्थित पशु फार्मका एक कर्मचारी जो न्यूटनले सुनाए, ट्रम्पले हाम्रा उद्योगमा सुधारका लागि निकै सहयोग पुर्याउनुभएको छ । कोइला उद्योग क्षेत्रमा पनि ट्रम्पको कार्यकालमा सुधार आएको छ। ट्रम्प अमेरिकाको यस ग्रामिण क्षेत्रमा निकै प्रसिद्ध बन्नुभएको छ।
एक साना व्यवसायी ट्रेसी पार्कर भन्छन्,'म उहाँको प्रशंसक हुँ । यो ट्रम्पको कार्यक्षेत्र हो र सञ्चारमाध्यमले के भन्छन् त्यो महत्वको कुरा होइन । हामी उहाँको पक्षमा शतप्रतिशत लाग्छौँ ।'
अमेरिकी पेनसिल्भानिया विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक एभेरी गोल्स्टेनले एक वर्षको गतिविधि लेखाजोखा गर्दै भने,'मैले ट्रम्पलाई राष्ट्रपति रूपमा पहिलो वर्षभरी आजको आदर्श अमेरिकी राज्यमा कल्पना गरिनेभन्दा अनपेक्षित रूपमा विभाजित पाएँ । म यसबाट निकै दुखित छु किनकी अमेरिकी नीति पनि दिशाविहीन बनेको छ ।'
गाल्स्टेनले सिन्ह्वा न्यूज एजेन्सीलाई शुक्रबार दिएको लिखित अन्तवार्तामा भनेका छन्,'अहिलेसम्म जे देखियो त्यसले अमेरिकी सुधारका लागि नाटकीय कदम चाल्ने भनी निर्वाचन पहिले र सत्तामा आएपछि घोषणा भएका खतरनाक शब्दालङ्कारबाहेक केही देखिएन ।'
अमेरिकी जनता, जसले निर्वाचन पहिले वर्तमान् राष्ट्रपति ट्रम्पलाई जसरी हेर्थे उनीहरूमा परिवर्तन आएको छैन । अर्थात् ट्रम्पको विपक्षमा मतदान गरेका अमेरिकी जनताले उनी राष्ट्रपति भएपछि पनि उनलाई हेर्ने दृष्टिकोणमा फेरबदल भएको मान्न सकिन्न। उनले घोषणा गरेका कार्यक्रमबाट डेमोक्रेटिक पार्टीको मजबुत मताधार क्षेत्र मानिएको न्यूयोर्कमा नागरिकहरू वेखुशी मात्र होइन क्रोधित नै छन् भन्ने गरिन्छ।
करिब ५० वर्षीय न्यूयोर्कवासी जानेट भन्छन्,'ट्रम्प कार्यकालको पहिलो वर्षमा शसक्त नयाँ कार्यक्रममा भन्दा पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएका नीति तथा कार्यक्रम उल्टाउनेमा सकेसम्म उद्दत देखिए। उनले कुनै महत्वपूर्ण कानून निर्माण गर्न गर्न पनि सकेनन्। मात्र विवादास्पद रहे।'
नेतृत्व सम्हालेका दिनदेखि आएका उहाँका ट्वीट सन्देशले आफ्ना आशय व्यक्त गर्ने र वासिङ्टन तथा सार्वजनिक वृत्तमा तरङ्ग फैलाउने बाहेक केही नभएको बताउने पनि धेरै रहेका बताइन्छ।
हस्टनका व्यवसायी एली गोन्जालेजले भने,'मेरो विचारमा ट्रम्पले अनावश्यक धेरै ट्वीट गर्नुभयो र त्यसैका कारण पनि उहाँ बढी विवादमा फस्नुभयो । मेरो विचारमा अब उहाँले ट्वीटर लेख्न मात्र कम गर्नु भयो भने कम विवादित हुनुहुनेछ ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।