राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित राष्ट्रिय माविका पूर्वविद्यार्थीहरुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि ‘हामी आफैं गर्छौ’ नामक अभियान सुरु गरेका छन्।
शनिबार विद्यालयमा आयोजित पूर्व विद्यार्थीको भेलाले परिवर्तन र विकासका लागि अरुको मुख ताक्न नहुने भन्दै यस्तो अभियान चलाउने निर्याय गरेको हो।
‘परिवर्तन आफैंबाट सम्भव छ भन्ने पुष्टि गर्न अभियान चलाउने निर्णय भयो’, अभियानका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष खतिवडाले भने, ‘एक वर्षभित्रै विद्यालयमा परिवर्तनका संकेतहरु देखिने गरी काम गर्छौं।’
भौतिक पूर्वाधारका लागि दाताको आस गर्ने र पढाइएको जिम्मेवारी शिक्षकको काँधमा थुपारेर जिम्मेवारी मुक्त हुने प्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक स्तर दिनप्रतिदिन खस्कँदै गएकाले आफनो ठाउँका बालबालिकाका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्न आफूहरु अग्रसर भएको उनले बताए।
५/६ हजार तलब खाएर मिहिनेत गर्ने बोर्डिङ स्कुलका शिक्षकले दिएको शिक्षा गुणस्तरीय हुने अनि सरकारी तलब खाने क्षमतावान् शिक्षकले पढाएका विद्यार्थी कमजोर हुने प्रवृत्तिको अन्त्य गर्न आफूहरु जुटेको पूर्वविद्यार्थीहरुले बताए।
भेलाले अभियानका लागि ब्यवस्थापन समितिका अध्यक्ष खतिवडाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गर्दै सहयोग कोष सञ्चालन तथा यसै आर्थिक वर्षदेखि कक्षा ११ को पढाइ सुरु गर्न पहल थाल्ने निर्णय समेत गरेको छ।
अभियान अन्तर्गत शनिबारै विद्यालयमा रक्तदान पनि गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।