कैलाली– प्रदेशसभा सांसदहरुको सपथका लागि प्रदेश ७ मा सम्पूर्ण तयारी पूरा भएको छ।
आइतबार हुने सपथ ग्रहणका लागि धनगढीको जिल्ला समन्वय समितिको सभाहलमा सरसफाइ र रंगरोगन गरिएको छ। बिहान ११ बजे पद तथा गोपनीयताको सपथ गराइने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद पौडेलले बताए।
प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सांसदमध्ये ज्येष्ठ सदस्य अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ का बलबहादुर सोडारीलाई सपथ खुवाउनेछन् र सोडारीले अन्य प्रदेशसभा सदस्यहरुलाई सपथ गराउनेछन्।
प्रदेश ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकबाट २१ गरी ५३ जना प्रदेश सदस्यले सपथ लिनेछन्।
प्रदेश प्रमुख मल्ल शनिबार काठमाडौंबाट जहाजबाट धनगढी आउने जनाइए पनि खराब मौसमका कारण उडान रद्द भएपछि स्थल मार्गबाट आउँदै छन्। उनले सपथ कार्यक्रम निर्धारित समयमै हुने बताएका छन्।
धनगढीको घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनमा प्रदेश प्रमुखको सचिवालय र वनदेवी मन्दिरसँगै जोडिएको क्षेत्रीय बन निर्देशकको निवासमा प्रदेश प्रमुखको निवास राखिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।