काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता संयोजन समितिको बैठकका एजेन्डाबारे छलफल गरेका छन्।
भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको छलफलमा शीर्ष दुई नेताले एकता संयोजन समितिको बैठकको एजेन्डा तय गर्न केन्द्रित रहेर कुराकानी गरेका थिए।
करिब दुई घन्टा भएको छलफलमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकताको दस्तावेजमा गम्भीर कुराकानी भएको छ।
बैठकपछि बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिको बैठक आइतबार दिउँसो ३ बजे बस्ने जानकारी दिए।
यस्तै, एमाले अध्यक्ष ओलीले बैठकमा ठोस रुपमा कुराकानी भएको बताए। विषयवस्तुमा गम्भीर रुपमा कुराकानी भए पनि ओलीले थप खुलाउन नचाहेको उनको निजी सचिवालयले जनाएको छ।
दुवै पार्टीको केन्द्रीय कमिटिले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन शीर्ष नेतृत्वलाई अधिकार सुम्पिएका छन्। एमाले अध्यक्ष ओली उपचार गरेर बैंककबाट काठमाडौं फर्किए लगत्तै माओवादी केन्द्रले पार्टी एकताको बविषयमा गम्भीर रुपमा छलफल अघि बढाएको छ।
दुवै दलले बनाएको कार्यदलले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।