नेपालगञ्ज– सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुले नेपालगञ्जबाट किनमेलका लागि भारतको रुपैडिया बजार जाने नेपाली नम्बर प्लेटको मोटरसाइकल तथा यात्रुहरुको चेकजाँचमा कडाइ गरेका छन्।
६९औं भारतीय स्वतन्त्रता दिवस जनवरी २६ (माघ १२) मा अवाञ्छित गतिविधि हुने जोखिम कम गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो। भारतीय सीमा सुरक्षा बलले नेपालगन्ज नाका हुँदै भारतको रुपैडिया जाने नेपाली नम्बर प्लेटका मोटरसाइकलको कागजपत्र चेकजाँच गर्नुका साथै मोटरसाइकलको इन्ट्री समेत राख्न थालेको छ।
यसअघि चारपांग्रे सवारीसाधनको मात्रै इन्ट्री गरिन्थ्यो। कागजपत्र देखाउनुपर्ने र लामो लाइन लागेर इन्ट्री गर्नुपर्ने भएकाले मोटरसाइकल चालकहरु समस्यामा परेका छन्।
बिदाको दिन करिब २ हजार र अन्य दिनमा करिब ७/८ सय नेपाली नम्बर प्लेटका मोटरसाइकल भारतको रुपैडियामा आउजाउ गर्छन्।
भारतको रुपैडियामा खटिएको भारतीय सीमा सुरक्षा बलको ७औं बटालियन परिवर्तन भई नयाँ ४७औं बटालियन आएकाले पनि सीमामा हुने चेकजाँचमा केही कडाइ भएको नेपाली सुरक्षा अधिकारीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।