काठमाडौं- बागमती सफाइ महाअभियानले २ सय ४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने बागमती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन सुरु हुन्छ। निकुञ्जभित्रै नगरपालिकाका पाँच बस्तीको सीधै बागमतीमा मिसाइने गरिएको हो। बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ। बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ।
नगरपालिका–१ मा निर्वाचित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको बताए।
सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ। फार्मको फोहर नदीमा पठाउन सजिलो हुनेगरी फार्म खोलिएको प्रस्ट देखिए पनि अधिकार सम्पन्न बागमती समितिले अनुगमन गर्न सकेको छैन।
नगरपालिका–४ को नदी किनारमा पनि सुँगुर बंगुर फार्म पालिनुका साथै ढल सीधै नदी किनारमा हालिएको छ। ४ नम्बर वडाका अध्यक्ष श्रीकुमार श्रेष्ठ ढल सीधै हाल्ने र नदी किनारमा फोहर बढाउने गतिविधि गर्दा मुहान क्षेत्रकै नदीको पानी कालो बनेको बताउँछन्।
कालो पानी बगेको तस्वीर खिचेर अधिकार सम्पन्न वाग्मती समितिमा दिए पनि केही काम नभएको श्रेष्ठले बताए।
समितिका आयोजना प्रमुख आशिष घिमिरे भने कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखसँग नदी सफाइ अभियानमा सहयोगको माग गर्दै पटकपटक बैठक गरे पनि समन्वय हुन नसकेको स्विकार्छन्।
मनोहरा दोभानबाट ५ मेट्रिक टन फोहर संकलन
बागमती सफाइ महाअभियानको २४५औं हप्तामा मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

बागमती सफाइका प्रमुख अभियन्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, जीवन विज्ञानका एलपी भानु शर्मालगायत ४ सय ५० अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिइन्।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सुविधानगर महिला समूह, जीवन विज्ञान, वातावरण विभाग, बुढानीलकण्ठ स्कुल, मुक्तिनाथ विकास बैंक लगायत २४ वटा संस्था सहभागी थिए।
बागमती सफाइ महाअभियान ०७० जेठ ५ गतेदेखि सुरु भएको हो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।