जुबा– दक्षिणी सुडान सरकारले युद्धविराम सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमन हुन नसकेको जनाएको छ।
सरकार र विद्रोहीबीच भएको सम्झौता अनुगमनका लागि बनाइएको निकायबाट सन्तोषजनक काम हुन नसकेको सरकारी पक्षले जनाएको हो।
हाल संक्रमणकालका लागि बनेको सरकारका प्रमुख मार्टिन इलिआ लोमुरोले अनुगमनलाई कडाइ गर्न अनुरोध गरिने जानकारी दिए।
'विद्रोही पक्षले शान्ति प्रक्रियालाई अगाडि बढाउन चाहेका छन् कि पछाडि धकेल्न चाहेका छन्?,' सरकार प्रमुख लोमुरोले प्रश्न गरे।
युद्धविरामको सम्झौता भएदेखि अहिलेसम्म ३१ वटा आक्रमण भएको तथ्य उनले सार्वजनिक गरे।
शान्ति सम्झौता गरेको विद्रोही पक्ष सुडान पिपुल्स लिबरेसन आर्मीले केही दिनअघि सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको थियो।
पूर्व प्रथम उपराष्ट्रपति रिएक माचारले नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलंघन भइरहेको बुधबार बताएको थियो।
दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षबीच सन् २०१५ को अगस्टमा शान्ति सम्झौता भएको थियो। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।