काभ्रे, दोलालघाट- ‘खुसी बाँडौं’ भन्ने नारासाथ सामाजिक क्रियाकलापमा सक्रिय सुखवती फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माविको भवन निर्माण गरेको छ।
कोरियाको अल माई किड्स र वुग्यदन याथोलिक चर्चको करिब रु ५० लाख सहयोगमा फाउण्डेशनले ६ कोठे विद्यालय भवन र २ कोठे शौचालय भवन बनाएको फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङले बताए।
साढे तीन सय विद्यार्थी अध्ययनरत सो विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि उनीहरु भोटेकोसी नदी किनारमा टिनको टहरामा पढ्दै आएका थिए। अधिकांश माझी जातिका विद्यार्थी पढ्ने सो विद्यालयमा भूकम्प प्रतिरोधात्मक भवन बनेपछि पठनपाठन सहज बनेको विद्यालयका प्राचार्य अशोकचन्द्र झाले बताए।
अल माई किड्सका अध्यक्ष कीम योङगोक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेतीले हालै सो नवनिर्मित भवनको उद्घाटन गरे।
फाउण्डेशनले गोर्खाको थालजुङमा दिगो कृषि योजनाअन्तर्गत अलैँची एवं काठमाडौँ दक्षिणकाली टुल्कुमा टनेलमा बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्न लागेको सदस्य केशकुमारी रानाले जानकारी दिइन्।
भुइँचालो आएपछि कोरियाको ब्युटीफुल स्टोर फाउण्डेशनसँग मिलेर प्रतिष्ठानले रसुवा, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका १३ गाविसका ५ हजार ८ सय घर परिवारलाई करिब रु ८० लाख मूल्य बराबरका ८ हजार सिरक वितरण गरेको थियो।
त्यस्तै फाउण्डेशनले कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर रु २७ लाखको लागतमा नुवाकोटको हिलेखर्कस्थित गारबेँसी निमाविको भवन निर्माण गर्नुका साथै भूकम्पपीडितलाई अस्थायी टहरासमेत निर्माण गरेको उपाध्यक्ष राजेन्द्रबहादुर लामाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।