ललितपुर- यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन्।
पहिले बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए। विभागको अहिलेको क्षमता अनुसार सेवाग्राहीले परीक्षा पास गरेको ६ महिनापछि कार्ड पाउन सक्छन्।
विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन्। अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा सुरु भएको थियो। पहिले बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक/डेढ महिनामा चालक अनुमतिपत्र पाउँथे। १४ वटै अञ्चल कार्यालयमा स्मार्ट अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नुपरेको हो। 'सेवा अन्यत्रबाट पनि सुरु भयो तर मेसिन थप नभएकाले समय लागेको हो,' कार्यालय प्रमुख यादवले बताए।
परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन्। 'कार्ड प्रक्रियामा रहेका झन्डै डेढ लाखमध्ये ४/५ सय जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्छन्।'
परीक्षामा उत्तीर्ण झन्डै ६ सय र नवीकरणका लागि ३०० गरेर ९ सय सेवाग्राही दैनिक आउने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।