काठमाडौं- लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक खुलाउन आवश्यक छलफलका लागि भन्दै सभामुख कृष्णबहादुर महराले डाकेको सर्वदलीय बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा गत असार २४ बाट निरन्तर अवरुद्ध हुँदै आएको संसद्को अवरोध खुलाउन आवश्यक छलफल हुनेछ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाललगायत सहभागी भएका छन्। प्रतिपक्षी राजपा नेपलाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति रहेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपा नेपालले संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।
संसदीय सर्वोच्चता कामय गरिनुपर्ने, प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेललगायतको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने लगायतका माग राख्दै संसद अवरुद्ध हुँदै आएको छ।
तर, सत्तापक्ष भने संसदीय समिति बनाउन नपर्ने अडानमा छ। सभामुख महराले भने सांसदहरुले उठाएका विषय सरकार समक्ष पुर्याउन र समाधान गर्न पनि सदन चल्नुको विकल्प नभएकाले अवरोध अन्त्य गर्न अनुरोध गर्दै आएका छन्।
बुधबार बसेको संसद् बैठकमा पनि करिब एक घन्टा नाराबाजी गरेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।