काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महसुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्।
बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले आज सञ्चारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महसुस भएका दिन पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको सालिकमा माध्यार्पण गरेपछि उनले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महसुस हुनासाथ जिम्मेवारीबाट पछि हट्ने स्पष्ट पारे। ‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ भन्ने महसुस प्रधानमन्त्रीलाई हुन्छ,’ मन्त्री भट्टराईको भनाइ थियो, ‘त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नुहुनेछ र म मन्त्री पदबाट हट्नेछु।’
मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए।
मन्त्री भट्टराईले केही दिनभित्र आफ्नो कार्ययोजना सञ्चारमाध्याममार्फत सार्वजनिक गर्ने पनि जानकारी गराए। मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आदर्श नेताको रुपमा स्मरण गर्ने गरेको पनि बताए। यसअघि भट्टराईले कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहिदहरुको सालिकमा माल्यार्पण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।