काठमाडौं- प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ।
प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठकभत्ता समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद् सचिवालयले जनाएको छ। यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद् भवनको वार्षिक भाडा, पानी, बिजुली लगायतमा हुने खर्चहरुको एकमुष्ट रकम हो।
बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घन्टा अघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। बैठकका पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
बैठक अवरुद्ध हुदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन। बैठक अवरुद्ध भए पनि सचिवालयले सांसदहरुलाई बैठक भत्तावापत एक हजार र यातायातवापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ।
संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख रुपैयाँ खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए।
बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्दछ। दैनिकजसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।