कञ्चनपुर - स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ।
प्रथम नगर सभाबाट ऐन, नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो। नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारबमोजिम स्थानीय तहका लागि आवश्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए।
संघीय कानूनसँग नबाँझिने गरी कानून निर्माण गरेका छौँ उनले भने,'ऐन, नियमावली र कार्यविधि निर्माण गरिएपछि कार्य गर्न सहजता भएको छ ।'
उनका अनुसार कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालिका नियमावली २०७४, नगरपालिका नगर कार्यविभाजन नियमावली २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारी आचारसंहिता २०७४ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
यसैगरी, नगरपालिकाले कार्यपालिका निर्णय आदेश र अधिकारको प्रमाणीकरण कार्य विधि नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन पनि निर्माण गरेको छ ।
संविधान र संघीय कानुनसँग नबाझीने गरी आवश्यकताअनुसार अन्य ऐन, नियमावली र कार्यविधि निर्माण गरिँदै लैजाने नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए।
नेपाल सरकार स्थानीय तह सञ्चालन ऐन २०७४ मन्त्रालयबाटै निर्माण भएर आएकाले झनै सहजता भएको उनको भनाइ छ ।
निर्माण भएका कानूनले नगरसभा सञ्चालन, कार्यपालिकाको बैठक सञ्चालन, करको दायरा निर्धारण, बजेट, आम्दानी र वडासम्म अधिकार प्रत्यायोजन गर्न सहज भएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।