बार्सिलोना - क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तगीमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन्।
क्याटलोनियालाई स्पेनबाट छुट्ट्याइ र स्वतन्त्र राज्यको घोषणा गर्ने अभियानको नेतृत्व गरेको भनी पुज्डमोन लगायतका तत्कालिन सरकारका केही मन्त्रीलाई स्पेनले अक्टोबर २७ मा बर्खास्त गरी कारबाही गरेको थियो। बर्खास्तगीसँगै उनी लगायत केही नेता बेल्जियममा स्वघोसित निवासनमा रहँदै आएका छन्।
'क्याटलोनियाबारे मेरा दुई विकल्प छन्। पहिलो विकल्प भनेको स्पेन फर्किने र राज्यविद्रोह, कानूनको उल्लङ्घन र सार्वजनिक कोषको दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्ने हो।,' पुज्डमोनलाई उदृत गर्दै क्याटलुन्या रेडियोले भन्यो,'जेलमा रहँदा मैले जनतालाई सम्बोधन गर्न, लेख्न वा भेट्न पाउँदिन। त्यसैले अर्को विकल्प भनेको आँफू स्वतन्त्र र सुरक्षित रहेर क्याटलोनियाको नेतृत्व सञ्चालन गर्ने हो।'
उनले देशबाहिर रहेर पनि नेतृत्व सम्हाल्न सकिने तर्क प्रस्तुत गर्दै भने,'आजभोलि ठूला व्यवसाय, शैक्षिक तथा अनुसन्धानका गतिविधिलाई टाढै बसेर पनि प्रविधिको प्रयोग गरी अध्ययन गर्न सकिन्छ।'
पुज्डमोनको यो भनाई नयाँ नेतृत्वका लागि क्याटलोनियाको नयाँ संसदका सभामुख तथा स्वतन्त्रता पक्षधर इआरसी पार्टीका रोगर टोरेन्टले पार्टीका नवनिर्वाचित सदस्यसँग क्षेत्रीय प्रमुखका लागि गरेको छलफलपछि आएको हो ।
स्पेनका प्रधानमन्त्री मारियानो राखोएले बेल्जियममा निर्वासनमा रहेका नेता पुज्डमोनले विदेशबाटै क्याटोलोनियामा शासन गर्न खोजे केन्द्रको प्रत्यक्ष नियन्त्रणलाई जारी राख्ने गत सोमबार बताएका थिए।
स्पेनको राजधानी म्याड्रिडमा आफ्नो दलका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री राखोएले भने,'शासन गर्न पुज्डमोन भौतिक रूपमा स्वदेश उपस्थित हुनुपर्ने छ। यदि पुज्डमोन स्वदेश नआइकनै राज गर्ने दाउ गरेमा केन्द्र सरकारले गत अक्टोबरदेखि क्याटोलोनियामा चलाएको प्रत्यक्ष शासनलाई जारी राख्नेछ।'
स्पेनी कानून अनुसार क्षेत्रीय नेता वा प्रमुख निर्वाचित हुन सिद्धान्ततः उनले संसदको अधिवेशन वा नयाँ नेतृत्व चयन प्रक्रियास्थलमा भौतिक रूपमा उपस्थित हुनुपर्छ । तर पुज्डमोनले आँफूले प्रत्यक्ष भिडियो मार्फत वा मन्तव्य लेखेर यसलाई कुनै प्रतिनिधिको सहयोगमा संसदमा धारणा राख्न चाहेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।