काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भट्टराईले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरे।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए। अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो।
भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गरेका थिए। भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरेका थिए भने दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए।
०६४ र ०७० सालको दुवै संविधानसभाको चुनावमा उनी काठमाडौंबाट पराजित भएका थिए।
ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका योगेश २०२३ भदौ २१ गते जन्मिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।