काठमाडौं- नेपाल र दक्षिण कोरियाको कला र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा दुवै देशको संयुक्त चित्रकला प्रदर्शनी हुने भएको छ।
नेपाल आर्ट काउन्सिल बबरमहलमा माघ ६ गते शनिबारदेखि सुरु हुने प्रदर्शनी पाँच दिनसम्म चल्नेछ। वरिष्ठ संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले अपराह्न ३ बजे प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो १ बजे सेमिनार समेत राखिएको छ।
प्रदर्शनीमा नेपाल र कोरियाका १९/१९ जना कलाकारको चित्र राखिने जनाइएको छ। काउन्सिलको ग्यालरीमा कलाप्रेमीहरुले अग्रज कलाकारदेखि युवा पुस्ताका कलाकारहरुको सिर्जना हेर्न पाउनेछन्।
प्रदर्शनीमा नेपालका तर्फबाट शशि शाह, मदन चित्रकार, गोविन्द डंगोल, मुकेश श्रेष्ठ, वरुण पोखरेल, मन गुरुङ, बिकु थापा लगायत कलाकारको चित्र राखिनेछ भने कोरियाको तर्फबाट प्रोफेसर इम् गुन उ, ली क्वान उ, इ जे साङ्, छो सङ् योङ्, ली ओन जू लगायतका सिर्जना समेटिएका छन्।
दुई देशको कला र संस्कृति आदानप्रदान गर्दै नजिकबाट बुझ्ने र बुझाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजनकर्ता वरुण पोखरेलले बताए।
लामो समय कोरियामै बसेर कला पढेका र कलाकर्म गरेका पोखरेलले भने, 'नेपाली कला अन्तर्राष्ट्रिय स्तरमा अपेक्षाकृत पुग्न सकेको छैन। यो अवस्थामा यस्तो प्रदर्शनी नेपाली कला बाहिर चिनाउने र बाहिरको कला र संस्कृति बुझ्ने अवसर हुनेछ।'
उनले भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।